काठमाडौं— नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे ।
एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ ।
विभिन्न चरणमा दुवै पार्टी अध्यक्षबीच अनौपचारिक संवाद पनि भइसकेका छन् । दुवै दलले पार्टी एकताको मनोविज्ञान बुझ्न प्रदेशका इन्चार्जहरूसँग पनि छलफल गरेका छन् ।
समाजवादी मोर्चामा रहेका दुवै दलले एकताको प्रयास स्वरुप अनौपचारिक संवाद जारी राखेका छन् । यस्तै, मोर्चाभित्रका अन्य दलहरूसँग पनि एकताको तयारी स्वरुप अनौपचारिक छलफल अघि बढाएका छन् ।