काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकामा प्युठान नगरपालिका–८ घर भई हाल टोखा नगरपालिका–३ बस्ने ३९ वर्षीय शान्त बहादुर विक, काभ्रे भूम्लु गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा कर्जन्हा नगरपालिका–८ घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ४४ वर्षीय महमद हातीम, र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन्।

शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै एक पीडितसँग ६ लाख रुपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै तीन जनाबाट ७ लाख रुपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ३ लाख रुपैयाँ, र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख १७ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले शान्त बहादुरलाई काठमाडौं महानगरपालिका–२९ बाट, प्रल्हादलाई काठमाडौं–२६ बाट, महमदलाई बनेपा नगरपालिका–७ बाट बुधबार, र तारालाई बुढानिलकण्ठ नगरपालिका–२ बाट बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।