बागलुङ — गलकोटमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्। गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै बिहीबार बिहान भएको दुर्घटनामा गलकोट बहुमुखी क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटनामा परेको हो।
हरिचौरबाट हटिया गइरहेको ग१झ ७४३ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट चिप्लिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
दुर्घटनामा परी १८ वर्षीया सुस्मिता विक, प्रमिला विक, सुनिता सापकोटा, १९ वर्षीया अमिसा क्षेत्री, जीवन खत्री र २५ वर्षीय मोहोन सिंह सुनार घाइते भएका छन्। उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए।