रामेछाप— कुनै बेला अत्यन्त चल्तीको ओलढुंगासँग जोडिएको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान जस्तो देखिएको छ ।

रामेछापको लिखु खोला किना, पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुरदेखिका मानिसहरूको राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य नाकाको रूपमा रहेको साँघुटार बजार समयसँगै कोल्टो बन्दै गएको छ । 

विसं १९६४ साल तिर सँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि साँघुटारमा आउजाउ गर्नेको चहलपहल बढेको थियो । दोहोरीलत्त मानिसहरू हिँड्न लागेपछि साँघुटारमा एक स्थानीले नाङ्ले पसल सुरु गरेका थिए । 

त्यस पछि स्थानीय नेवारहरूका साथै भक्तपुरबाट आएका भौकाजीहरुले १९८५ सालबाट दोकान सुरु गरेका साँघुटारका ९० वर्षीय व्यापारी बद्रीदास भौकाजी बताउँछन् । 

हजुरबाले सुरु गरेको साँघुटारको व्यापारलाई बद्रीदास भौकाजी र उनका छोरा लगायत छोरो पुस्ताले धान्दै आएका छन् । कुनै बेला सामान दिन समेत भ्याइनभ्याइ हुने साँघुटारका व्यापारीहरू अहिले ग्राहक कुरेर बसेका छन् । 

साँघुटार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ । 

पुराना घर र यसको पुरानो मौलिकतालाई जगाई राख्न पुराना घर संरक्षणको कार्यक्रम ल्याउन जरुरी छ । अन्यथा यसको इतिहास माटोमा मिसिने छ ।