काठमाडौं— नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरीहरूका लागि विशेष सम्मेलन आयोजना गरेको छ। 'साझा जिम्मेवारी, समान प्रतिबद्धता स् प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ आयोजित दुईदिने सम्मेलन बिहीबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सुरु भएको हो।

सो सम्मेलनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए। कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

सम्मेलनको उद्देश्य महिला प्रहरीहरूले भोगिरहेका व्यवहारिक, पेशागत र संरचनागत समस्याको पहिचान गर्दै समाधानका उपाय खोज्नु रहेको छ। अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीका अनुसार, “महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गरी समाधान तर्फ उन्मुख हुने यो सम्मेलन महत्वपूर्ण बन्नेछ।”

नेपाल प्रहरीमा महिलाको सहभागिता ऐतिहासिक रूपमा रहँदै आएको छ। पहिलो महिला प्रहरी चैत्यमाया डंगोलले वि.सं. २००८ मा प्रहरी जवान पदबाट सेवा सुरु गरेकी थिइन्। उनलाई सम्मेलनको अवसरमा विशेष सम्मानसमेत गरिएको छ। हाल नेपाल प्रहरीमा महिला सहभागिता १२.४१ प्रतिशत रहेको छ।

गृहमन्त्री लेखकले सम्मेलनमा बोल्दै महिला प्रहरीहरूको भूमिका सराहनीय रहेको उल्लेख गर्दै भने, “महिला प्रहरीहरू कुनै पनि हिसाबले पुरुष प्रहरीभन्दा कमसल छैनन्। उनीहरूले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्।” भने ।

दुईदिने सम्मेलन शुक्रबार (भोलि) समापन हुनेछ।