सिरहा — सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिरहाको गस्ती टोलीले भन्सार छलीका सामग्रीसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

गएराति करिब ९ः३० बजे मिर्चैया नगरपालिका–९ स्थित घुर्मी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा जाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो।

गाडीमा कुनै बिलबिजकबिना ल्याइएको ४० बोरा चिनी, २० बोरा कविर सुर्ती र ५ बोरा केराउ फेला परेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार फेला परेका सामग्रीको अनुमानित मूल्य करिब ३ लाख २३ हजार रुपैयाँ रहेको छ।

साथै, नियन्त्रणमा लिइएको बोलेरो गाडीको मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेकोले समग्रमा जफत गरिएको सामग्री तथा सवारीसाधनको मूल्य १२ लाख ७३ हजार रुपैयाँ बराबर भएको प्रहरीको भनाइ छ।

घटनासँग सम्बन्धित गाडी चालक उदयपुर जिल्लाको कटारी नगरपालिका–१३ मयाङखु निवासी २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीले जफत गरिएका सामग्री तथा सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।