धनुषा— विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खासगरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरुमा अवैद्य देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ । 

स्थानीयहरुले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमानचारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ७ स्थित दुईवटा होटलमा छापा मारेको छ ।

प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, तीन जना पुरुष सहित सञ्चालक राजेन्द्र महतोलाई पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

यस्तै, गोदावरी होटलबाट १ जना महिला र १ जना पुरुषलाई पक्राउ गरेको छ । उक्त होटलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ढल्केबरमा रखिएको छ भने फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

यस अघि ढल्केवर र महोत्तरीको वर्दिवासका विभिन्न स्पा एण्ड मसाज सेन्टर तथा डान्सबारमा प्रहरीले छापा मारेका थिए । ढल्केवरको डान्सबारमा भारतीय पर्यटक र युवाहरुको दिनहु घुँईचो लाग्न थालेपछि होहोल्ला र झैझगडा हुने गरेको थियो ।