काठमाडौं— जुलाई ३१, २०२५ मा सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), डेनमार्कको नयाँ कार्यसमितिले औपचारिकता पाएको छ ।
कोपनहेगनमा आइतबार शपथ ग्रहण गर्दै कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको हो ।
नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुन लाई निर्वाचन आयुक्त भुवनध्वज थापाले शपथ ग्रहण गराएका थिए भने बाँकी पदाधिकारीहरूले पनि अध्यक्ष पुनको उपस्थितिमा शपथ लिँदा नयाँ कार्यसमितिले औपचारिकता पाएको हो ।
डेनमार्कमा रहेका नेपाली समुदायप्रति आफ्नो शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत तथा प्रमुख अतिथि सुम्निमा तुलाधरले नयाँ कार्यसमितिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नु आवश्यक रहेको बताइन् ।
उनले यस अवसरमा सबैलाई एकताको सन्देश प्रवाह गर्दै डेनमार्कमा रहेका सम्पूर्ण नेपालीको साझा भविष्य निर्माणमा सक्रिय हुन जोड दिइन् ।
नेपालीहरू एक अर्कामा फुटेर होइन जुटेर अघि बढ्न आग्रह गरिन् । कार्यक्रममा उपस्थित प्रवासी नेपाली मञ्च डेनमार्कका अध्यक्ष रविन कार्कीले नयाँ कार्यसमितिलाई बधाई दिँदै आगामी दिनहरूमा डेनमार्कमा रहेका गैर आवासीय नेपालीहरूको समस्याको समाधानका साथै नेपाली भाषा, संस्कृति र एकताको प्रवद्र्धनमा अग्रसर हुन सुझाव दिए ।
उनले नयाँ कार्य समिति वैधानिक ढङ्गबाट केन्द्रको निर्देशनबाट बनेकाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुनले प्राप्त जिम्मेवारी गहन रूपमा लिएको उल्लेख गर्दै, एनआरएनए डेनमार्क एक साझा संस्था भएकाले गुट उपगुटको राजनीतिक दुर्गन्ध नफैलाउन आग्रह गरे । विधि र विधानको बाटोबाट आफ्नो टिम तयार भएकाले कसैको बहकाउमा कागजी अभियानले वास्तविकता नलुक्ने र कसैले भ्रम छर्न खोजे त्यो पतनको बाटो मात्र भएको उल्लेख गरे । अध्यक्ष पुनले नयाँ कार्यसमितिले संस्था र गैर आवासीय नेपालीको हितमा सधैँ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त भुवनध्वज थापाले आइसिसीको निर्देशन अनुसार निर्वाचन विधिसम्मत रूपमा सम्पन्न भएको र नयाँ कार्यसमितिको गठन पनि कानुनी र संस्थागत प्रक्रिया अनुसार नै भएको बताए ।
उनले डेनमार्कमा गैर आवासीय नेपाली संस्था एउटै हुने र कसैलाई चित्त नबुझे वार्ता र छलफलबाट सम्भव हुने भएपनि आफ्ना प्रयास असफल भएका र वैधानिक बाटोबाट कार्यसमिति तयार गरी समाधान खोजिएकाले यसबारे प्रश्न उठाउन नहुने पनि स्पष्ट पारे ।
नव निर्वाचित उपाध्यक्ष अमृत रिजालले स्वागत मन्तव्यमा एनआरएनए डेनमार्कको नयाँ कार्यसमिति गुटगत सङ्घर्षको परिणाम नभई विधानको कार्यान्वयनको नतिजा भएको बताएका छन्।