स्याङ्जा— स्याङ्जाको वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन्।

मृतक निशान थापा सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत थिए। आइतबारको परीक्षा सकेर घर फर्किएका निशान केही समयपछि रहस्यमय रूपमा हराएका थिए। उक्त समयमा घरमा उनकी सानी बहिनी मात्र थिइन् भने आमा छिमेकीको मेलामा गएकी थिइन्।

मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा घरभित्रै रहेको बाकसभित्र निशानको शव फेला परेको परिवारजनले बताएका छन्।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली आइतबार राति नै घटनास्थल पुगेको थियो। स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिएको छ।

निशानको शव पोष्टमार्टमका लागि वालिङस्थित गह्रौं प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने विशेषज्ञद्वारा परीक्षण गर्न पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ।