बैतडी— जिल्लाको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट मृत फेला परेकी हुन् ।

आफु बस्ने कोठामा गएराति ८ बजेतिर उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।

पुर्चौडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको स्थानीयले बताएका छन् ।​

अनमी झुन्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।