काठमाडौं— काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोक नजिकै सोमबार बिहान स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उपचारका क्रममा सिराहाको जन्दह–४ निवासी २९ वर्षीय भोला थापा र कालो पाइन्ट र सेतो टिसर्ट लगाएका, नाम–थर तथा ठेगाना नखुलेका करिब ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ भङगालमा बसोबास गर्ने २४ वर्षीय एरिक परियार तथा कालो ट्र्याक र नीलो टिसर्ट लगाएका, नाम–थर नखुलेका अर्का एक पुरुष घाइते भएका छन्। उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीको नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तहरूको खोजी कार्य जारी रहेको एसपी बोहराले बताए।