सप्तरी— राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका–११ निवासी ३३ वर्षीय मोहमद खुर्सिद आलमलाई विमानस्थल सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्ध एयरको उडानमार्फत राजविराजबाट काठमाडौं जान लागेका थिए।
आलमको साथबाट स्रोत नखुलेको ३५ हजार ९७६ साउदी रियाल फेला परेको प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए । रकमको वैधता पुष्टि गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
'विदेशी मुद्रासम्बन्धी कानुन उल्लंघनको आशंकामा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ,' एसपी केसीले जानकारी दिए। बरामद गरिएको रकमसहित आलमलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध रूपमा विदेशी मुद्रा ओसारपसार गर्नेलाई निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ।