काठमाडौं— वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको गएराति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै नन्दनको आइतबार राति ९ः३० बजे उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । उनी तनहुँबाट बसाइँ सरेर चितवन पुगेका थिए।
नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नन्दनको आजै देवघाटमा दाहसंस्कारको तयारी गरिएको छ । अहिले उनको पार्थिव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनी नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार समेत हुन् ।
नन्दन साहित्य लेखनसँगै नाटकको लेखन, निर्देशनसहित गीत गायनमा पनि तल्लीन थिए । उनले पहिलोपटक २०११ सालमा व्यवस्थाविरुद्ध ‘झटारो’ नामक कृति प्रकाशन गरेका थिए ।