रामेछाप— माओवादी जनयुद्धको क्रममा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्डलाई आज २२ वर्ष पूरा भएको छ । तर पीडित परिवारहरू अझै पनि न्यायको प्रतीक्षामा छन् । युद्धविरामको बेलामा नेपाली सेनाले २१ जना माओवादी नेता–कार्यकर्तामाथि गरेको सामूहिक हत्यापछि देशले पुनः सशस्त्र द्वन्द्वको मोड लिएको थियो ।

रामेछापको तत्कालीन दोरम्बा गाविस–२ स्थित युवराज मोक्तानको घरमा माओवादीहरूको बैठक भइरहेका बेला नेपाली सेनाको टोलीले हमला गर्दै सबैलाई नियन्त्रणमा लियो । बैठकस्थलको सुरक्षा गरिरहेका टेकबहादुर थापाको त्यहीँ हत्या गरियो भने बाँकी १९ जनालाई नियन्त्रणमा लिएर डडुवा गाविस–९ को डाँडाकटेरी पुर्‍याई हात बाँधेर लाइनमा उभ्याएर गोली हानी हत्या गरियो । अर्की एक कार्यकर्ताको शव घटनास्थलभन्दा तलको खोल्सामा फेला परेको थियो ।

घटनामा नेपाली सेनाको तत्कालीन मेजर राममणि पोख्रेल नेतृत्वको टोली संलग्न थियो । घटनाको भोलिपल्टै माओवादीले शान्तिवार्ता तोड्दै पुनः सशस्त्र युद्धमा फर्किएको घोषणा गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले घटनालाई ‘नृशंस हत्या’ भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको ठहर गरिसकेको छ । यद्यपि अहिलेसम्म कसैलाई कारबाही भएको छैन । पीडित परिवारले विभिन्न निकायमा उजुरी गरिसकेका छन् तर निष्कर्षमा पुगेको छैन ।

मृतक पदमराज गिरीका छोरा कपिलराज गिरी भन्छन्, 'हामीले उजुरी दिन मिल्ने सबै ठाउँमा गयौं, तर अहिलेसम्म न्याय पाएका छैनौं । आफ्नै सहिदका लागि माओवादी नेताहरूले केही गरेनन् ।'

२२ औँ स्मृति दिवसका अवसरमा रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा सहभागीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् । घटनास्थल डाँडाकटेरीमा सालिक बनाइएको छ, पीडितलाई केही राहत पनि दिइएको छ तर न्याय अझै टाढा छ ।