जनकपुरधाम— सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।
धनुषा प्रहरीका अनुसार अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता जाहेरी दिएकी थिइन्।
प्रहरीले जनाएको अनुसार घटना २०७८ माघ १२ गते घटेको हो। प्रारम्भिक अनुसन्धानपछि रायलाई नियन्त्रणमा लिइएको हो।
शनिबार उनलाई धनुषा जिल्ला अदालतमा पेस गरी आवश्यक अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित अन्य आरोपीहरूबारे पनि अनुसन्धान जारी रहेको धनुषा प्रहरीको भनाइ छ ।