धरान— सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित ओशो पार्क जंगलमा ठूलो परिमाणको गाँजासहित पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध गाँजा कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट ७२ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। बरामद गरिएको गाँजा ६ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको उनको भनाइ छ ।

गाँजासहित पक्राउ पर्नेमा धरान–२० बस्ने ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी–१० बस्ने ३४ वर्षीय प्रदीप राई र धरान–१३ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन्।

पक्राउ परेका पाँचैजनालाई धरानस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी तिम्सिनाले बताए। लागुऔषध कारोबारमा संलग्न यस्ता समूहहरूको गतिविधि नियन्त्रण गर्न धरान क्षेत्रको निगरानी कडा पारिएको उनले जानकारी दिए।

प्रहरीले बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने तयारी समेत गरिरहेको जनाएको छ।