काठमाडौं— काठमाडौंको गोंगबुस्थित बसपार्क नजिकैको एक होटलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोक घर भई हाल बूढानीलकण्ठ बसोबास गर्ने सन्तोष सेन्चुरीलाई वीरगन्जबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

शुक्रबार राति करिब ११ बजेतिर गोंगबुस्थित होटलको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विकको शव खाटमुनि शंकास्पद अवस्थामा फेला परेको थियो। शव भेटिएपछि काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

शवको सनाखत ललिता विकको रूपमा भएको र पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सन्तोष र ललिता दुई वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। उनीहरूबीच सम्बन्ध सुमधुर नभएको खुल्न आएको छ।

साउन २७ गते सन्तोषले ललितालाई फोनमार्फत बोलाएर गोंगबुस्थित उक्त होटलमा लगेका थिए। सोही होटलमा उनले ललिताको हत्या गरेर शव खाटमुनि लुकाएका थिए।

हत्या गरेपछि सन्तोष आफ्ना साथीको घरमा गएर बसेका थिए। साउन २८ गते उनले श्रीमती हराएको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा निवेदनसमेत दिएका थिए। तर, साउन ३० गतेदेखि उनी स्वयं पनि सम्पर्कविहीन भएका थिए।

फरार रहेका सन्तोषको खोजीमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।