काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आइतबार काठमाडौं आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ। उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिश्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

सचिव मिश्रीको भ्रमणकालीन अन्य भेटवार्ता र कार्यक्रमहरूबारे परराष्ट्र मन्त्रालयले थप विवरण सार्वजनिक गर्ने जनाएको छ।