विराटनगर— झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका–३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी–७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३ हजार ४ सय ५० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले  धनकुटा नगरपालिका–९ का ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापालाई ३ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।