काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनादेखि साउन ३१ गतेसम्म देशभर विभिन्न प्रकारका २,८५३ विपद्का घटना घटेका छन्। ती घटनामा परी १२६ जनाको ज्यान गएको छ भने ५८५ जना घाइते भएका छन्।
उक्त अवधिमा २३ जना बेपत्ता भएका छन् भने पाँच हजार ४१ परिवार विपद्बाट प्रभावित भएका छन्। विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका १,११४ घटना दर्ता भएका छन्। यस्तै, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, र सर्पदंशका ७७ घटनाहरू भएका छन्।
प्राकृतिक प्रकोपका अन्य घटनामध्ये बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेका २, र असिना हुरी तथा अन्यका एकरएकवटा घटना उल्लेखनीय छन्।
साउन ३१ गते मात्रै पनि सातवटा आगलागी, आठवटा पहिरो, चारवटा अविरल वर्षा, तीनवटा जनावर आक्रमण र एकवटा बाढीको घटना घटेका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ। सो दिनका विपद्बाट करिब ३८ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
पीडितहरूको उद्धार र राहत कार्यमा १४० जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।