नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।

'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्‍यो,' घर्तीले बताए।

गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडियाका २० वर्षीय कात्तिक कुमार रहेको प्रहरीले जनाएको छ। उनलाई दायाँ खुट्टामा गोली लागेको छ। उनलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

अन्य पक्राउ पर्नेहरूमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी र भारतकै २० वर्षीय अजयकुमार रहेका छन्।

ढुङ्गा प्रहारबाट एक जना प्रहरी जवान समेत घाइते भएको र उनको पनि अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले घटनास्थलबाट लागुऔषध खैरो हेरोइन पनि बरामद गरेको छ।