काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।


अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।


विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष अगाडि रिले अनशन जारी राखेका थिए। तर, १९औँ दिन प्रहरीले हस्तक्षेप गर्दा भएको झडपपछि उनीहरूले बाहिरै रिले अनशन थाल्नुपरेको हो।


त्रिवि प्रशासनले विद्यार्थीहरूको आन्दोलनबारे वार्ता गर्न विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। यद्यपि, समितिले पटक–पटक वार्ता गरे पनि सहमति हासिल हुन सकेको छैन।