कुवेत– कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एशियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका थुप्रै व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। उनले मृत्यु भएका अधिकांश भारतीय र केही नेपाली भएको प्रारम्भिक जानकारी आएको बताए। मृतक नेपालीहरूको परिचय र उनीहरू कार्यरत कम्पनीबारे जानकारी संकलन भइरहेको छ।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृत्यु हुने नेपालीको संख्या ६ रहेको जानकारी दिए। तीमध्ये ५ पुरुष र १ महिला रहेको जनाइएको छ। २ जनाको मृत्यु आदान अस्पतालमा र ४ जनाको मृत्यु सालबिया क्षेत्रमा रहेको कम्पनीको मजदुर शिविरमै भएको हो।
मल्लका अनुसार बिरामीहरूलाई कुवेतको आदान, फर्वानिया र मुबारक अल कबी अस्पतालमा उपचार गरिँदैछ।
कुवेत टाइम्सका अनुसार विषाक्त मदिरा सेवनपछि गत शनिबारदेखि बिरामीको संख्या बढ्न थालेको हो। बुधबारसम्म ६३ जना बिरामी भर्ना भएको र १३ जनाको मृत्यु भइसकेको कुवेतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
पूरी रूपमा मदिरा प्रतिबन्धित रहेको कुवेतमा अवैध रूपमा उत्पादन र बिक्री हुँदै आएको विषाक्त मदिराको स्रोतबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती मदिरामा औद्योगिक प्रयोगका लागि बनाइने मेथानोल प्रयोग भएको पुष्टि भएको छ।
मेथानोल यस्ता विषाक्त रसायन हो जुन एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन उत्पादनमा प्रयोग गरिन्छ। यो खाद्य प्रयोजनमा प्रयोग गर्न नहुने र सेवन गर्दा टाउको दुखाइ, बान्ता, दृष्टि गुम्ने, कोमामा जाने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा मृत्यु समेत हुन सक्छ।
हालसम्म घाइते ५१ जनाले मिर्गौलाको डायलासिस गरिरहेका छन् भने २१ जनामा दृष्टिदोष देखिएको छ। ३१ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मृतक र गम्भीर बिरामीहरू अधिकांश निर्माणाधीन क्षेत्रमा कार्यरत मजदुरहरू हुन्।