काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगको अनुसन्धान अनुसार यादवले २०६६ सालदेखि २०७९ सालसम्मको अवधिमा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका थिए। तर, उनी र उनका परिवारको नाममा देखिएको आम्दानी जम्मा दुई करोड ६८ लाख रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।
यसरी करिब ९७ लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेपछि यादवले गैरकानुनी रूपमा सम्पत्ति जोडेको ठहर गर्दै मुद्दा दायर गरिएको हो। तीमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखिएको पनि बताइएको छ।
आयोगले यादवले सार्वजनिक पदमा रहँदा पदीय हैसियतको दुरुपयोग गरेर अमिल्दो र अस्वाभाविक जीवनशैली अपनाएको भन्दै बिगो बराबर जरिवाना र कैद सजाय माग गरेको छ।