काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।

संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।

उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”

उनका अनुसार सीईओले नीतिगत निर्णय कार्यान्वयन गर्नुपर्ने हो र यदि जिम्मेवारीअनुसार काम नगरेमा बोर्डलाई हटाउने अधिकार हुने भएकाले डराउनुपर्ने कुनै कारण छैन।


डा. महतले अहिले वैकल्पिक वित्त कोषलाई नयाँ अवधारणाका साथ अघि बढाउन खोजिएको भन्दै त्यसको नेतृत्व सम्हाल्न देश–विदेश बुझ्ने, अनुभवी, र दक्ष व्यक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।

“ग्रिन कार्ड लिएको, विदेशी नागरिक हो वा छैन भन्ने होइन, प्रमुख कुरा योग्यताको हो। विदेशमा बसेको नेपाली पनि हुन सक्छ, विदेशी नागरिक पनि हुन सक्छ — तर जिम्मेवारी वहन गर्न सक्ने क्षमता भए स्वीकार गर्नुपर्छ,” उनले स्पष्ट पारे।


उनका अनुसार अहिलेको प्रतिस्पर्धी संसारमा दक्ष र अनुभवी जनशक्ति प्रयोग नगरेर नीतिगत रोक लगाउनु राष्ट्रिय हितमा नहुने बताए।