रसुवा— रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा पासाङल्हामू मार्ग अन्तर्गत बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरी निरीक्षक राजु शाहले दुर्घटनामा परेका सबै घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको जानकारी दिएका छन्। बसमा कति जना यात्रु थिए भन्नेबारे थप विवरण आउन बाँकी छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।