काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।

प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत आर्यघाट सेवा केन्द्रमा खटिएका जीवनाथ ढकाल (गणेशप्रसाद ढकाल) र विनायक मैनालीले शव पूर्णरूपमा नजल्दै हड्डी र खरानी संकलन गरेको खुलासा भएको छ।

उक्त हड्डीलाई एनसेल कपुरको बट्टामा राखी रामनन्दन ठाकुरलाई बिक्री गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले साउन २६ गते ठाकुर र यादवलाई पक्राउ गरी उनीहरूबाट हड्डीको धुलो तथा खरानीजस्तो देखिने वस्तु समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानले शव जलिरहेको अवस्थामा नै हड्डी निकालिएको पुष्टि गरेको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।