काठमाडौं— काठमाडौं महानगरपालिकाले कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पुलहरू भत्काउने अभियान थालेको छ।
काठमाडौं महानगरपालिका–१३ र १४ मा स्थानीयले आफूखुसी निर्माण गरेका पाँच वटा पुलमध्ये हाल दुई पुल भत्काइसकिएको र बाँकी तीन पुल भत्काउने तयारी भइरहेको महानगरले जनाएको छ।
महानगरका अनुसार ती पुलहरू कुनै कानुनी स्वीकृति र प्राविधिक मापदण्ड बिना बनाइएकाले हटाउन लागिएको हो। यसले खोलाको प्राकृतिक बहावमा असर पार्नुका साथै बाढी र डुबानको जोखिम बढाउने भन्दै महानगरले अवैध संरचनाहरू हटाउन थालेको हो।
यसअघि पनि महानगरले सार्वजनिक जमिन, सडक र खोल्सामा गरिएको अतिक्रमणविरुद्ध विभिन्न स्थानमा डोजर अभियान चलाउँदै आएको छ।