काठमाडौं— महाकाली नदीमा पानीको बहाव उच्च भएपछि कञ्चनपुरस्थित नेपाल–भारत सीमाको बनबासा पुल (शारदा ब्यारेज) हुँदै हुने सवारी तथा मानव आवागमन बन्द गरिएको छ।
आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। यो बहाव एक लाख क्यूसेकभन्दा बढी भएको अवस्थामा जोखिमपूर्ण मानिने भएकाले चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी साधन तथा सर्वसाधारणको आउजाउ अस्थायी रूपमा रोकिएको हो।
शारदा ब्यारेज बाढी मापन केन्द्रका अनुसार नदीमा जलसतह अझै बढ्ने अनुमान गरिएको छ। भारततर्फको शारदा ब्यारेज कार्यालयले पनि सूचना जारी गर्दै आगामी केही घण्टा थप वर्षा हुने सम्भावना रहेकाले पुल हुँदै यात्रा नगर्न आग्रह गरेको छ।
सुरक्षाका दृष्टिकोणले अत्यावश्यक कामबाहेकको यात्रा नगर्न र बाढी सम्भावित क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।