काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।


नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।


उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"


सभापति देउवाका अनुसार डिजिटल प्रविधि शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई यातायात र सरकारी सेवासहित विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग भइरहेको छ। उनले यसलाई शिक्षा, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा अझ प्रभावकारी र जिम्मेवार तरिकाले उपयोग गर्नुपर्नेमा जोड दिए।


उनले सूचना प्रविधिले जनतालाई छिटो, सहज र पारदर्शी सेवा दिन सहयोग गरेको उल्लेख गर्दै भने, “घरघरमा इन्टरनेट, मोबाइल बैंकिङ, अनलाइन फारम, डिजिटल शिक्षा र स्वास्थ्य सेवाले जनजीवन सहज र सम्मानजनक बनाइरहेका छन्।”


देउवाले कांग्रेस नेतृत्वको सरकारको पहलमा बनेका नीतिहरूले प्रविधिको पहुँच टाढा–टाढासम्म पु‍र्‍याएको स्मरण गराउँदै भने, “अझ धेरै काम गर्न बाँकी छ। कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको पार्टी हो।”


उनका अनुसार कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि प्रवर्द्धन, सुशासन कायम गर्ने र जनतालाई केन्द्रमा राखेर प्रविधि नीति निर्माण गर्न उपयोग गर्ने नीति अवलम्बन गरेको छ।


“डिजिटल प्रविधिले काममा सहजता, तीव्रता र विश्वसँग जोडिने अवसर दिएको छ,” देउवाले भने, “तर यसको केही नकारात्मक प्रभावहरू पनि देखिएको हुँदा नागरिकलाई सचेत पार्न र प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी हुनेछन्।”


सभापति देउवाले डिजिटल प्लेटफर्ममा देखिएको नागरिक असुरक्षा समाधानका लागि सरकारले समयमै ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले नीतिगत मार्गनिर्देशन दिने विश्वास व्यक्त गरे।


कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि डिजिटल प्रविधि अहिलेको जीवनशैलीको अनिवार्य आधार बनेको बताउँदै यसको उपयोगका विषयमा निरन्तर सिकाइ आवश्यक रहेको धारणा राखिन्। उनले कांग्रेसका विचार र नीतिलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा जनसमक्ष लैजानुपर्नेमा पनि जोड दिइन्।