काठमाडौं – वैदेशिक रोजगारको नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई कास्कीबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठगी आरोपमा २९ वर्षीय त्रिलोक सिंहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि.का सञ्चालक रहेका सिंहमाथि ६६ जना व्यक्तिबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ डाँडाकोनाक क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा २७ साउनमा पक्राउ गरिएको हो ।
पक्राउपछि सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
पक्राउ परेका सिंह बझाङको बुङ्गल नगरपालिका– ६ का हुन्, जो काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ९ मा बस्दै आएका थिए ।