कैलाली— गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते राति भएको झडपको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुने बताए।
उक्त झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनालाई काठमाडौं ल्याइ उपचार भइरहेको छ भने अन्य ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
गृहमन्त्रीका अनुसार झडप राति दुई ब्लक बीचको पर्खाल तोडफोड गरेर ब्लक ए का कैदीले ब्लक बीमा पुगेर कुटपिट गरेका थिए।
घटनापछि कारागारमा आन्तरिक द्वन्द्व रोक्न १७ जना नेतृत्वकर्ता बन्दी अन्यत्र सारिएको, विशेष खानतलासी गरिएको र कारागार निरीक्षणसमेत गरिएको मन्त्री लेखकले जानकारी दिए।
हाल कैलाली कारागारमा ६४३ पुरुष र ४७ महिला गरी ७०० कैदीबन्दी रहेका छन्।