झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।


गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।


सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रहरीका अनुसार ती हात्ती बुधबार बिहान आफैँ जंगलतर्फ फर्किएका छन्। झापामा जंगली हात्तीले पटक–पटक मानव बस्तीमा प्रवेश गरी भौतिक र मानवीय क्षति पुर्‍याउँदै आएका छन्।