भक्तपुर — भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना क्षेत्रफलको जग्गालाई मोहीको नाममा लगत कट्टा तथा जग्गा धनी प्रमाण पूर्जा तयार गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम घुस रूपमा लिएको अनुसन्धानबाट पुष्टि भएको छ।

साविक चाँगुनारायण गाविस–५ ख मा पर्ने उक्त जग्गाको मोही बाँडफाँड तथा रजिष्ट्रेसनका लागि सहजीकरण गरिदिने भन्दै उनीहरूले मिलेमतोमा रकम लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

'प्रारम्भिक अनुसन्धानबाट उनीहरूको योजनाबद्ध मिलेमतो प्रमाणित भएको र सेवाग्राहीसँग माग तथा प्राप्त भएको घुस रकम २४ लाख ५० हजार नै कायम गरिएको छ,' पौडेलले बताए।

आयोगले उक्त बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।