विराटनगर— सुनसरीको दुहबी नगरपालिका–४, शिव मन्दिर चोकस्थित एक निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब १० बजे उनीहरू मृत फेला परेका हुन्।

मृतकहरूमा दुहबी नगरपालिका–२ का ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङ सो घर निर्माणका पेटी ठेकेदार हुन् भने राई कामदारका रूपमा कार्यरत थिए, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

घटना स्थलमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार घटनाको स्पष्ट कारण नखुलेको बताइएको छ।

घटनाको थप अनुसन्धानका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक चिकित्सक बोलाइएको प्रहरीले जनाएको छ। पोष्टमार्टम र फरेन्सिक रिपोर्टपछि मात्र मृत्युको यथार्थ कारण खुल्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार कानुनी प्रक्रिया अघि बढाइसकिएको छ। घटनास्थल इप्रका दुहबीबाट करिब दुई किलोमिटर पूर्व पर्छ।