काठमाण्डौं— न्याय परिषद्को सिफारिसमा नियुक्त भएका उच्च अदालतका २७ जना नयाँ न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश विष्वम्भर प्रसाद श्रेष्ठले उनीहरूलाई शपथ गराएका हुन्।
शपथपछि न्यायाधीशहरू न्याय सेवा प्रशिक्षण केन्द्र, हरिसिद्धिमा आयोजना हुने एक महिनाको आधारभूत तालिममा सहभागी हुनेछन्। तालिमको उद्देश्य न्याय सम्पादनमा आवश्यक कानुनी ज्ञान, आचरण र व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको बताइएको छ।
नवनियुक्त न्यायाधीशहरूलाई संविधान, मानव अधिकार, न्यायिक आचारसंहिता, सूचना प्रविधिको प्रयोग, र कानुनी भाषाको शुद्ध प्रयोगजस्ता विषयमा विशेष तालिम दिइनेछ।
न्याय परिषद्ले गत महिनाको अन्त्यतिर रिक्त रहेका विभिन्न उच्च अदालतका पदहरूमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। तीमध्ये अधिकांश न्यायाधीश विभिन्न जिल्ला अदालत, सरकारका कानुनी निकायहरू तथा निजी क्षेत्रबाट आएका छन्।