चितवन – नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दिपक’ भन्ने भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको छ । उक्त पर्चामा ‘शालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका छन् ।
एसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदैछ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको थियो । कार्यालय समयमा बहुमतका कार्यकर्ताले अनुहारमा मोसो दलेका थिए ।
घटनाको छानबिनको क्रममा चितवन प्रहरीले निष्कर्ष निकालेको छ, ‘मोसो दल्नुअघि चन्दा मागिएको थियो, नदिइएपछि उक्त घटना भयो ।’
मोसो दल्नु केही दिनअघि उनीहरूले कार्यालयका सम्पूर्ण कर्मचारीबाट सहयोग उठाएर आफूहरूलाई दिनुपर्ने माग गरेका थिए ।
पीडित लम्सालले नेपाल प्रेससँग भने, ‘चन्दाजस्तो कुरा मनबाट जे, जति सकिन्छ गर्ने हो, सबै जनाबाट जे जति संकलन हुन्छ स्वीकार गर्नुस् भनेको थिएँ ।’
तर, त्यो समूहले केही दिनपछि फोनमार्फत अनावश्यक दुःख र धम्की दिने काम गरेको उनले बताए ।
‘५/६ लाख दिनुस्, नत्र पार्टीले कारबाही गर्छजस्तो धम्की आयो’, लम्सालले भने ।
सोही समूहले सेवाग्राहीको भेषमा कार्यालय छिरेर लम्सालमाथि कुटपिट गरी मोसो छ्यापेर भागेको एसपी पुरीले बताए ।
यसैबीच खैरहनी नापीका कर्मचारीले प्रमुख लम्सालमाथि दुर्व्यवहार गर्नेहरुलाई कारबाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् ।