अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीहरूलाई सानो गाडीभित्र भैंसीहरूलाई अटाई नअटाई राखेर यातना दिँदै लैजाने क्रममा नियन्त्रणमा लिइएको हो।
घटनास्थलमा भेटिएका भैंसीहरू घाइते अवस्थामा थिए। गाडीका चालक र सहचालक दुवैलाई पक्राउ गरिएको र उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत पशुपंक्षी सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले पशु अधिकारको गम्भीर उल्लंघनका यस्ता घटनामा कडाइका साथ कारबाही अघि बढाउने बताएको छ।