काठमाडौं—  सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका एक कार्यालय सहयोगी सोमबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार चन्द्रागिरी नगरपालिका–१३ स्थित एक जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो ।

टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई नापी कार्यालयको परिसरमै सेवाग्राहीबाट लिएको १३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कुँवरसँगै उनको मोबाइल फोन पनि बरामद गरिएको छ । त्यस क्रममा कार्यालय प्रमुखका दुई थान मोबाइल डिभाइस र सर्भेक्षकको मोबाइल पनि आयोगले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कुँवरमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।