काठमाडौं – वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । 

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अवस्था छ । हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने कुराहरुमा अरुलाई आव्हान गर्ने तर हामीले बनाउने नीतिमा त्यो नहुँदा नीति निर्माणमा ध्यान दिनु जरुरी देखिन्छ ।’

उनले वातावरणीय पक्ष र जलवायु परिवर्तनका कारण आएका समस्यामा फरक रहेको भन्दै यसले दिगो विकासमा समेत टेवा पुर्याउने बताए । 

यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने र वतावरणीय संरक्षणका उपायहरुका लागि नीति संशोधन गरी समेट्नुपर्ने बताए । 

यस्तै रास्वपाका सांसद स्वर्णिम वाग्लेले कृषिवाली नलाग्ने ठाँउमा तापक्रम बृद्धि हुने, हिउँ पग्लिदा जोखिम बढने भएकाले जोखिम न्यूनीकरण मात्र नभइ यसलाई नीति मार्फत समेटिनुपर्ने बताए ।  

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विषय र वातावरण संरक्षणको विषयलाई संशोधन गरी समेट्न समितिलाई आग्रह गरे ।