काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा संसद्मा प्रवेश गरेसँगै सदन अहिले सुन्न र हेर्नलायक भएको बताएका छन् ।
मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा अर्यालले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि संसद्को गरिमा बढेको बताउने गरेको दाबी गरे ।
"राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ," उनले भने ।
उनले नीति नियम आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने पनि बताए । उनले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उनले उल्लेख गरे ।
"संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा यस्तो कोर्नुपर्यो कि देश निर्माणका लागि ५० वर्षको नक्सा कोर्नुपर्छ," उनले भने ।