वीरगञ्ज— नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि आज बिहानदेखि अस्पताल परिसर बाहिर तनावपूर्ण अवस्था देखिएको छ। मृतक ३५ वर्षीय राहुल तुहारा पर्सा कारागारमा बन्दी रहेका थिए।
तुहारा नियमित रूपमा जिम गर्ने क्रममा असहज भएपछि आज बिहान उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। चिकित्सकले आवश्यक उपचार सुविधाको अभाव जनाउँदै उनलाई बाहिरको विशिष्टीकृत केन्द्रमा रेफर गर्न सुझाव दिएका थिए।
उनलाई अन्यत्र लैजान जिल्ला प्रशासन कार्यालयबाट अनुमति नआएको कारण मृत्यु भएको मृतकका आफन्तहरूले बताएका छन्।
मृत्युपछि आक्रोशित आफन्त र सर्वसाधारणले अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
यस विषयमा जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासनले औपचारिक प्रतिक्रिया दिन बाँकी छ। घटनाबारे विस्तृत छानबिन सुरु भएको जनाइएको छ।