अमेरिका— अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।
ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।
मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्पेलका अग्निनियन्त्रण विभाग ९फायर ब्रिगेड० प्रमुख जे हेगनले एउटा विमान दक्षिण दिशाबाट आएर रनवेको अन्त्यतिर दुर्घटना भएको बताए । त्यसपछि त्यो त्यहाँ रहेको अर्को विमानसँग ठोक्किएको र आगलागी भएको उनले जानकारी गराए ।
आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका जनाइएको छ । दुई यात्री सामान्य घाइते भएका र हवाईअड्डामै उनीहरूको उपचार गरिएको हेगनले जानकारी दिए ।
स्थानीय लज सञ्चालक रन डेनियलसनले आफूले ठक्करको ठूलो आवाज सुनेको र क्षेत्रमा कालो धुवाँको मुस्लो फैलिएको बताए ।
एफएएको रेकर्डअनुसार, उक्त विमान सन् २०११ मा बनाइएको थियो । त्यसको स्वामित्व वासिङटनको पुलम्यानस्थित मिटर स्काई एलएलसीसँग छ ।