तनहुँ— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित बनकेवाचोकमा बसमै अचेत अवस्थामा भेटिएका एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२, मालागिरि निवासी करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन्। उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६, वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।
गगनगौंडाबाट दुलेगौंडातर्फ आइरहेको यात्रुबाहक बसमा यात्रा गरिरहेका विक बनकेवाचोक पुग्दा अचेत अवस्थामा फेला परेका थिए। बसका यात्रुहरूको भनाइअनुसार, उनले यात्रा क्रममा केही पटक बान्ता गरेका थिए।
अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उद्धार गरी प्रहरीले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेको थियो। तर, त्यहाँका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।