काठमाडौं काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो ।

एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । त्यस्तै, महानगरले असार तथा साउन महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।

यसका साथै पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष प्रारम्भ भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताएका छन् । कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।

विभागले साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए ।

त्यसैगरी, साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । यी जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा २० वटा सवारी साधनहरूको अनुगमन गरियो । त्यस अनुगमनमा ६८ वटा जारहरू मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो ।

साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । त्यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो ।

अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताएका छन् ।

नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगहरूको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने प्रमुख न्यौपानेको भनाई छ ।

यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुली पानीको गुणस्तरबारे भन्छन्– ‘प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ । हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’

आगामी दिनहरूमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । विशेषगरी, बल्खु, कालीमाटी र टङ्केश्वर जस्ता क्षेत्रहरूमा विगतमा हैजा रोगका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाई छ ।

महानगरले जारमा राखिएको पानीलाई वर्षायाममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।