सिन्धुली— सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। शव फेला पर्ने महिलाको पहिचान घ्याङ्लेक–२, चन्दनपुर निवासी ४० वर्षीया सन्चमाया वाइबा लामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सन्चमाया साउन ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारजनले साउन १५ गते इलाका प्रहरी कार्यालय वस्तिपुरमा उनको बेपत्ताको जानकारी गराएका थिए। त्यसयता प्रहरीको टोलीले खोजतलास जारी राखेको थियो।
सन्चमायाको शव नाङ्गे डाँडाको जंगलमा फेला परेको हो। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ।