चितवन— चितवनमा लम्पी स्किन रोगको प्रकोप तीव्र बनेको छ। असार महिनाको अन्तिम सातादेखि देखा परेको उक्त रोगका कारण हालसम्म ३० वटा गाईगोरुको मृत्यु भएको छ।
हालसम्म जिल्लाभर ७९७ वटा गाईगोरु र भैँसीमा संक्रमण देखिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। तीमध्ये ७९३ गाईगोरु र ४ भैँसी–राँगा रहेका छन्।
कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार खैरहनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको हो। सो पालिकामा ४२५ पशुमा संक्रमण देखिएको छ भने २२ वटा गाईगोरु मरेका छन्।
त्यस्तै, रत्ननगर नगरपालिकामा १९१ पशुमा संक्रमण देखिएकोमा ४ वटा गाईगोरु मरेका छन्। राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशुमा संक्रमण पुष्टि भएको छ। भरतपुरमा ४ गाईगोरुको मृत्यु भएको जनाइएको छ।
यसैबीच, जिल्लामा हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।
डा. मिश्रका अनुसार गर्मीयाममा लामखुट्टे, झिँगा लगायतका किराबाट यो रोग फैलिने गरेको पाइन्छ। रोगको मुख्य लक्षणमा उच्च ज्वरो, दूध उत्पादनमा कमी, छालामा गिर्खा, मुख, नाक र आँखाबाट पानी झर्ने, र्याल काढ्ने र लिम्फ नोड सुन्निने समावेश छन्।
रोग संक्रमित पशु चौपायाको ओसारपसार, साझा चरन क्षेत्र, दाना–पानीको साझा प्रयोग तथा कृत्रिम गर्भाधानबाट सर्ने गरेको पाइएको छ।