दार्चुला— दार्चुलाको व्याँस गाउँपालिका–६ बसेडीमा स्यालको आक्रमणबाट तीन जना स्थानीय घाइते भएका छन्। आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा उनीहरूलाई स्यालले टोकेको स्थानीयवासी केशरसिंह खातीले जानकारी दिए।

घाइते हुनेमा ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन्। प्रारम्भिक उपचारका लागि उनीहरूलाई व्याँस–६ खातीगाउँस्थित ग्रामीण स्वास्थ्य एकाइ केन्द्रमा लगिएको थियो।

तर, थप उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएकोमा त्यहाँ पनि रेबिजविरुद्धको खोप उपलब्ध नहुँदा तीनैजनालाई धनगढीस्थित अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए।

स्थानीयले जंगली जनावरको आतंक बढ्दै गएको भन्दै सुरक्षा र रोकथाममा ध्यान दिन सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।