काठमाडौं— डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए । अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले बताए ।
तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् । ‘यसरी सार्वजनिक स्थान बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन’, भनेर प्रतिक्रिया दिएका छन् ।
वडाध्यक्ष जोशीले जुहारसँग सामान्य विवाद भएको तर घटनालाई अनावश्यक उचाल्न खोजिएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘बाटो हिँडिरहेको मलाई आइतबार ३ जनाले अशोभनीय टिप्पणी गरेका थिए । यसमा सामान्य विवाद भएको हो । अनावश्यक उचाल्ने काम राम्रो होइन’, उनले भने। उनले घटनापछि प्रहरी चौकीमा छलफल हुँदा लुहारले गल्ती स्वीकारेको समेत बताए ।