बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफूलाई बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गर्दै दर्ता गरेको निवेदनमा आज अदालतमा सुनुवाइ हुने भएको छ।
लामिछानेले आफूले सहकारीमा भएको रकम हिनामिनाको बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाइसकेको भन्दै उक्त मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न अनुरोध गरेका हुन्।
उनले पेस गरेको निवेदनमा बिगो दाबीका रूपमा देखाइएको रकम बराबरको ग्यारेन्टी उपलब्ध गराइ सकेकोले अब आफूविरुद्ध कारबाही अघि बढाउनु नपर्ने दाबी गरिएको छ।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि समेत संलग्नता रहेको भन्दै पीडितले निरन्तर आवाज उठाउँदै आएका छन्। यसअघि उनले उक्त प्रकरणमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै केही बयान दिएका थिए।
अदालतले आजको पेसीमा सो निवेदनमाथि के निर्णय गर्छ भन्ने चासो राजनीतिक वृत्तदेखि सहकारी पीडितसम्ममा छ।